बेलबारी : मोरङको बेलबारी नगरपालिका ९ स्थित डाँगीहाटमा सञ्चालित आरजु राइस मिलले स्थानीय किसानलाई धान उत्पादनका लागि प्रोत्साहित गर्न प्राविधिक सहयोग उपलब्ध गराउन थालेको छ ।
मिलले विभिन्न प्रजातिका धानबालीको उत्पादन बढाउने उद्देश्यले किसानलाई आवश्यक पर्ने प्राविधिक सहयोग उपलब्ध गराएर धान उत्पादनमा लाग्न प्रेरित गरिरहेको मिलका प्रबन्धक डा.विवेकानन्द झाले जानकारी दिए । उनका अनुसार मिलले स्थानीय किसानलाई धान उत्पादनका क्रममा आवश्यक पर्ने औषधि तथा बाली विशेषज्ञको टोली खेतमै पठाइदिने गरेको छ भने किसानले उत्पादन गरेका धान पनि कम्पनीकै खर्चमा खेतबाट मिलसम्म ढुवानी गरी उचित मूल्यमा खरिद गर्ने गरेको छ ।
किसानले बिनाझन्झट आफूले उत्पादन गरेका धान आफूहरूलाई बिक्री गरी धान मिलमा भण्डारण गरेको तीन दिनभित्र सम्पूर्ण भुक्तानी पाउने प्रबन्ध मिलले नै मिलाइदिएको प्रबन्धक झा बताउँछन् । बाली उत्पादनमा लाग्ने मल तथा औषधि तथा यान्त्रिक खर्चको लागत मूल्य भने धानको मूल्यसँग समायोजन गर्ने प्रबन्ध गरिएको उनले उल्लेख गरे ।
जिल्लाकै रङ्गेली नगरपालिका १ स्थित जिराइतका किसान युवराज न्यौपाने आरजु राइस मिलकै प्राविधिक सहयोगमा लगाइएको धानबालीबाट मनग्य आम्दानी गरिरहेका छन् । १३ बिघा जग्गामा सुवासी १ नामक बास्मती धान लगाएका न्यौपानेको खेतमा अहिले धानको बाला झुल्न थालेका छन् । गत वर्ष प्रतिबिघा ९२ मनका दरले धान उत्पादन गरी भित्र्याएका न्यौपानेले सो वर्ष दुई बाली धान र एक बाली तोरी खेती गरी प्रतिबिघा साढे चार लाख रुपियाँका दरले आम्दानी गरेको सुनाए ।
धान खेती गर्दा बाली काट्ने, थ्रेस गर्नेदेखि लिएर मिलसम्म ढुवानी गर्ने सम्पूर्ण खर्च धान बेच्दा नै मिलान गर्नेगरी मिलले नै उपलब्ध गराइदिँदा लगभग शून्य लागतमा नाफा कमाउन पाएको किसान न्यौपानेको अनुभव छ ।
मिलले छोटो अवधिमा उत्पादन लिन सकिने विभिन्न पाँच प्रकारका धानबाली लगाउन किसानलाई प्रोत्साहित गर्दै आएको छ । मिलले हर्दिनाथ ५, राम धान, हर्दिनाथ ६, सर्वती र सुवासी १ प्रजातिका धानको बाली लगाउन किसानलाई प्राविधिक सहयोग गर्दै आएको मिलका प्रबन्धक झाले जानकारी दिए ।
उनका अनुसार मिलले किसानको उत्पादन खरिद गर्ने प्रयोजनका लागि धानको न्यूनतम समर्थन मूल्यसमेत निर्धारण गरिदिएको छ । राम धान र हर्दिनाथ ५ का लागि मिलले प्रतिक्विन्टल तीन हजार दुई सय, हर्दिनाथ ६ प्रतिक्विन्टल तीन हजार तीन सय, सर्वती प्रतिक्विन्टल तीन हजार पाँच सय र सुवासी १ प्रतिक्विन्टल पाँच हजार रुपियाँ दिएर खरिद गर्ने गरिएको मिलले जनाएको छ । समर्थन मूल्य बजारको मूल्यवृद्धिका अनुपातमा वृद्धि हुनसक्ने मिलको भनाइ छ ।