नागरिकता विवादमा जिल्ला अदालत धनुषाको अनुमतिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ लैजाने तयारी गरिएको छ। 

जनकपुरको काब्या अस्पतालमा रहेका उनलाई स्वास्थ्यमा समस्या आएपछि एयर लिफ्ट गरेर काठमाडौँ ल्याउने तयारी गरिएको उनका कानुनी सल्लाहकार किशोर पौडेलले बताए। ‘जनकपुरको अस्पतालबाट एयर लिफ्ट गरेर काठमाडौँ ल्याउने प्रक्रिया सुरु गरिएको छ,’ उनले भने। पछिल्लो पटक जिल्ला अदालतले उनलाई सोमबार तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो। 

उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि काब्या अस्पताल लगिएको थियो। उक्त अस्पतालमा पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौँ लैजान लागिएको हो। 

परिवारका अनुसार सिरोहियालाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या थिए। जिल्ला अदालतले उनलाई तीन पटक तीनरतीन दिन म्याद थप गरेको थियो। सिरोहियालाई काठमाडौँ लैजानका लागि आवश्यक पत्र तयारी भइरहेको र केही समयमा काठमाडौँ लैजाने परिवारले जनाएको छ। उनलाई काठमाडौँको कुनै अस्पतालमा राखिने परिवारको दाबी छ।