प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभइ सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सामूहिक प्रयासको प्रतिफल भएको बताएका छन्।
गणतन्त्र दिवसका अवसरमा काठमाडौंमा आज आयोजित विशेष कार्यक्रममा उनले सामूहिक प्रयास र सहकार्यले नै राजनीति व्यवस्था परिवर्तन गर्न सकिएको र सङ्घीयता र गणतन्त्रसहितको संविधान निर्माण गर्न सफल भएको बताए।
उनले भने, ‘गणतन्त्र कसैको लहड थिएन, न त कसैको राजनीतिक स्वार्थमा चलेको आन्दोलनको परिणाम नै। यो त विभेदपूर्ण सामाजिक संरचनालाई भत्काउँदै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्न परिवर्तनकारी राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएर गरिएको सामूहिक प्रयास थियो । हाम्रो सामूहिक प्रयास र सहकार्यमार्फत् राजनीतिक व्यवस्था परिवर्तन गर्यौं र एकात्मक वंशवादी सामन्ती राज्यसत्ता अन्त्य गरी सङ्घीयता र गणतन्त्रसहितको संविधान निर्माण गर्न सफल बन्यौं।’ उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै राजनीतिक रूपमा क्रान्तिको एउटा अध्याय पूरा भएपनि तत्कालिन गणतन्त्र स्थापनाको सोच र लक्ष्य पूरा गर्ने अभिभारा अझै बाँकी रहेको बताए।