बेलबारी : मोरङको बेलबारी नगरपालिका ३ स्थित शान्ति सिर्जना टोलकी एक एकल महिलाका लागि टोलवासीको आर्थिक सहयोगमा घर निर्माण सुरु गरिएको छ ।
सात वर्षअघि पतिको मृत्यु हुनुका साथै छोरालाई बोनम्यारोको क्यान्सर भएपछि दयनीय आर्थिक अवस्थामा पुगेकी स्थानीय मञ्जु थापाका लागि घर निर्माण सुरु गरिएको वडा सदस्य बिमला तामाङले जानकारी दिइन् । उनका अनुसार टोलवासी स्थानीय व्यवसायी तथा विदेशमा बस्ने टोलवासीका तर्फबाट आर्थिक सहयोग तथा निर्माण सामग्री सङ्कलन गरी घर निर्माण सुरु गरिएको छ ।
घर निर्माणमा कम्तीमा तीन लाख रुपियाँ खर्च हुने पूर्वानुमान गर्दै उनले लागतको ७० प्रतिशत रकम सङ्कलन भइसकेको र हाल ८० हजार रुपियाँ मौज्दातसमेत रहेको बताइन्। अपुग रकम दाताबाट सङ्कलन गरी घर निर्माण सम्पन्न गरिदिने प्रतिबद्धता व्यक्त गर्दै उनले स्थानीय सरकारका तर्फबाट भने पर्याप्त बजेट उपलब्ध नहुँदा सहयोग गर्न नसकिएको उल्लेख गरिन्। यद्धपि, स्थानीय सरकारका तर्फबाट गाई भने सहयोग गरिएको बताएकी वडा सदस्य तामाङले सो गाई राख्नका लागि पनि ठाउँको अभावले समस्या भएपछि घर निर्माणकै लागि सहयोग सङ्कलनमा जुटेको स्पष्ट पारिन् ।
घर निर्माणका लागि सहयोग पाएकी थापाले हावाहुरी आएका समयमा बासको समस्या हुन थालेपछि सहयोगका लागि आफूले अपिल गरेको र सबै पक्षबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको बताइन् ।