बेलबारी : मोरङको बेलबारीस्थित बेलबारी बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बेलबारी बाल कला साहित्य महोत्सव २०८१ हुने भएको छ। जेठ १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, गयान, नृत्यजस्ता सिर्जनात्मक गतिविधिमाथि कार्यशाला तथा छलफल कार्यक्रम हुने आयोजक संस्थाकी अध्यक्ष रेखा सुवेदीले जानकारी दिइन्।
उनका अनुसार बेलबारी नगरपालिकाको चार लाख ८० हजार रुपियाँ अनुदानमा सञ्चालन हुन लागेको महोत्सवमा बेलबारीका विभिन्न विद्यालयहरूले शैक्षिक तथा सांस्कृतिक महत्वका स्टलका साथै विभिन्न खेलकुद गतिविधि तथा खानाका स्टलसमेत प्रदर्शनीमा राख्नेछन् ।
m2विद्यार्थीमा अन्तर्निहित सिर्जनात्मक क्षमताको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको र निःशुल्क रूपमा कार्यशालामा सहभागी हुने तथा अवलोकन गर्ने प्रबन्ध मिलाइने आयोजक संस्थाका कार्यक्रम संयोजक विकास बुढाथोकीले जानकारी दिए। उनका अनुसार महोत्सवमा सहभागी विद्यार्थीले कथा वाचन तथा मेयरसँग बालबालिकाजस्ता विभिन्न शीर्षकमा हुने सामूहिक छलफलमा निःशुल्क सहभागी हुने अवसर पाउनेछन् भने उनीहरूलाई सहभागिताको प्रमाणपत्रसमेत दिइनेछ। पठन संस्कृतिको प्रवद्र्धनका लागि महोत्सवमा खुला पुस्तकालयसमेत राखिएको उनले उल्लेख गरे।
महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका सचिव कुलप्रसाद बराल, बेलबारी बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन सभापति पुष्कल सुवेदी (सिओम), प्रतिष्ठानका उपाध्यक्ष मनकुमार गुरुङ, सदस्य मेखबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो।