बेलबारी : काठमाडौँको पशुपति क्षेत्रमा आगामी साउन १ गतेदेखि ३२ गतेसम्म पशुपति कोटी होम एवं १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ हुने भएको छ। ललितपुरमा सञ्चालित मामाघर अनाथालय तथा भक्तपुरमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणका लागि रकम सङ्कलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। विभिन्न १० ओटा संस्थाहरूको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो।
यस कोटी होममा १५५ जनाभन्दा बढी पण्डितले नियमित हवन, चार वेद अठार पुराणको पारायण गर्नेछन्। महारुद्राभिषेक तथा, ५१०० कलशको पूजाका साथै कोटी दीप प्रज्वलन गरिनेछ भने कोटी पार्थिव शिव लिङ्ग पूजनसमेत गरिने आयोजकको भनाइ छ।
यसैगरी, देश तथा विदेशका प्रसिद्ध साधु, सन्त तथा महन्तले आशीर्वाद प्रदान गर्नेछन् भने आशिर्वचन मिल्नेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त वाचक, वाचिकाहरुले वाचन गर्नेछन् । देशका चर्चित उद्घोषकहरुबाट कार्यक्रमको उद्बोधन हुने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकाहरूको प्रस्तुतिसमेत हेर्न पाइने आयोजकले जनाएको छ। कवि सम्मेलन, सन्त सम्मेलन तथा विभिन्न गोष्ठीहरुका साथमा सद्भावना सम्मेलनसमेत आयोजना गर्ने आयोजकको योजना छ ।
Capture 46