सहकारी प्रकरणको विषयमा छानबिन समिति गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

बैठकमा सत्ता पक्षबाट कांग्रेसले माग गरेको विषयहरुमा एउटा मस्यौदाको ड्राफ्ट पेस गर्ने र त्यसमा काँग्रेसको सहमति माग्ने सत्ता पक्षको तयारी रहेको छ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन्।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन्। यस अघि आइतबार भएको कार्यदलको बैठकमा सहमतिमा नपुगे पनि अर्को बैठकमा सत्ता पक्षले परिमार्जित प्रस्ताव पेश गर्ने सहमति भएको थियो।