बेलबारी : बेलबारी नगरपालिकाको ९ नम्बर वडा कार्यालयले वडा क्षेत्रमा अवाञ्छित गतिविधि बढेको भन्दै सुरक्षा व्यवस्था चुस्त बनाउनका लागि सर्वपक्षीय सहमति गरेको छ ।
खेतमा रहेका बालीनाली नष्ट गर्ने तथा परालको माचमा आगो लगाउनेजस्ता अराजक गतिविधिमा अज्ञात समूह सकृय देखिएकाले त्यस्ता गतिविधि निस्तेज पार्न वडा कार्यालयले सर्वपक्षीय सहमति गरी आचारसंहिता जारी गरेको हो। जसअनुसार वडा क्षेत्रका स्थानीयलाई राति ९ः३० बजेपछि अत्यावश्यक काम परेको अवस्थामा बाहेक सडकमा हिँडडुल नगर्न भनिएको छ।
IMG-20240522-WA0023
अनावश्यक हिँडडुल गरेको पाइएमा स्थानीयले सोधपुछ गर्न सक्ने र चित्तबुझ्दो जवाफ नदिए त्यस्ता व्यक्तिलाई प्रहरीको जिम्मा लगाउन सकिने पनि सहमतिपत्रमा उल्लेख छ। यसैगरी, गुलेली प्रयोग गरी चराचुरूङ्गी मार्न तथा करेन्ट लगाएर माछा मार्न पनि बन्देज गरिएको छ। यसका साथै वडा क्षेत्रमा सञ्चालित होटल तथा पसलहरू राति ९ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाउनेगरी सहमति कायम गरिएको छ।
वडाध्यक्ष शालीग्राम बस्नेत, स्थानीय प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असइ) राजु खड्का, सबै टोल विकास संस्थाका अध्यक्षहरू र वडा सदस्यहरूको रोहबरमा सहमति गरी आचारसंहिता जारी गरिएको वडा कार्यालयले जनाएको छ ।