बेलबारी : मोरङको बेलबारी नगरपालिका ६ स्थित सोमबारेमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ। स्थानीय पन्नालाल चौधरीले अनुदानस्वरुप उपलब्ध गराएको दुई कट्ठा जग्गामा निर्मित प्रहरी चौकीको उद्घाटन गरिएको हो।
हाल भाडाको भवनमा प्रहरी चौकी सञ्चालनमा रहेकोमा नयाँ चौकी स्थापनापछि पाँचजना प्रहरी सहायक निरीक्षक (असइ) सहितका जनशक्ति परिचालन गरी सेवालाई चुस्तदुरुस्त बनाइने बेलबारी नगरपालिका ६ नम्बर वडाध्यक्ष टेकबहादुर राईले जानकारी दिए । उनका अनुसार चौकी सञ्चालनका लागि थप संरचना निर्माण गर्नुपर्ने भएमा स्थानीयसँग सहयोग सङ्कलन गरी थप जग्गा खरिद गरी संरचना विस्तार गरिनेछ ।
हालसम्म सञ्चालित प्रहरी चौकीको भाडा बेलबारी नगरपालिकाले बेहोर्दै आएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले नगरको सुरक्षा व्यवस्थालाई दुरुस्त राख्न प्रहरी चौकीलाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे । प्रहरीको उपस्थिति नै सुरक्षाको प्रत्याभूति हो भन्ने सर्वसाधारणको मनोविज्ञान रहेको उल्लेख गर्दै नगरप्रमुख राईले शान्ति सुरक्षा कायम गर्ने सवालमा नागरिकले आफ्नो भूमिकालाई पनि नजरअन्दाज गर्न नहुने धारणा राखे। शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षाको प्रत्याभूति खोज्दै सर्वसाधारण गाउँबाट शहरतर्फ बसाइँसराइ गरी जाने प्रचलन रहेको बताउँदै उनले सुरक्षाको प्रत्याभूतिले गाउँमा बसोबासको वातावरण तयार हुने विश्वास व्यक्त गरे।
यसैगरी, कार्यक्रमका विशिष्ट अतिथिका रूपमा आमन्त्रित जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले आकस्मिक सहयोगका लागि अनुरोध आउनासाथ तत्काल परिचालन दिन सक्नेगरी जिल्लाको प्रहरी जनशक्तिलाई विभिन्न इलाका प्रहरी कार्यालय तथा स्थायी र अस्थायी प्रहरी चौकीहरूमा तयारी अवस्थामा राखिएको बताए। समस्यामा परेका बखतमा प्रहरी सर्वसाधारणको साथमा छ भन्ने अनूभूति दिलाउन प्रहरी प्रतिबद्ध रहेको उनको भनाइ छ।
कार्यक्रमका अर्का वक्ता नेकपा माओवादी केन्द्र बेलबारी ६ नम्बर वडा कमिटि अध्यक्ष केवल राईले प्रहरी चौकी स्थापनाले सुरक्षाको प्रत्याभूति दिलाएको बताए। स्थायी प्रहरी चौकी स्थापनाका लागि आर्थिक सङ्कलन अभियान सञ्चालन गरिए पनि विभिन्न प्राविधिक जटिलताका कारणले सो अभियानले गति लिन नसकेको बताउँदै उनले सो अभियानले पनि निकट भविष्यमा सफलता पाउने विश्वास व्यक्त गरे।
बेलबारी ६ का वडाध्यक्ष टेकबहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मी, स्थानीय समाजसेवी गोपाल कोइराला, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।