झापाको बिर्तामोडमा दुईवटा बैंकमा तोडफोड भएको छ। व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईका समर्थकहरुले ऋणिलाई टर्चर दिएको भन्दै बैंकमा तोडफोड गरेका हुन्।

प्रसाईँका कार्यकर्ताहरुले एभरेष्ट बैंक र ज्योती विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका हुन्। प्रहरीले तोडफोडमा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न भएको अभियोगमा बुद्धशान्तिर्का अन्जेस राई (बुलेट किराँती), बिर्तामोड-३ सैनिकमोडका मनिकुमार तामाङ सहित ४ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो। पक्राउ पर्ने अन्य दुईजनाको नाम सार्वजनिक भएको छैन।

प्रसाईँ नेतृत्वको ‘राष्ट्र राष्ट्रियता धर्म संकृति र नागरिक बचाउ महाअभियान’ को यूवा संगठन नागरिक यूवा दस्ताको आयोजनामा भएको प्रदर्शनपछि बैंकमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। नागरिक यूवा दस्ताका झापा जिल्ला प्रमुख भिम तुम्बापोको नेतृत्वमा बिरोेध प्रदर्शन भएको थियो।

गएको वैशाख २५ गते एभरेष्ट बैंक र ज्योति विकास बैंकले टर्चर दिएको भन्दै बर्दियाको राजापुरका खुशीराम चौधरी आत्महत्या गरेको भन्दै प्रसाईँका कार्यकर्ता बिरोधमा उत्रिएका हुन्। लगभग १५० जनाको उपस्थितिमा कालो माक्स र नेपालको झण्डा सहित विभिन्न बिरोधका नारा लगाउँदै उनीहरुले बिरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीले ज्योती बिकास बैंकमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। उनीहरुले एभरेष्ट बैंक रहेको घरमा ढ्ङगा प्रहार गर्दा सो घरको १५, १६ वटा सिसा फुटेको प्रहरीले जनाएको छ। ज्योती बिकास बैंकमा भने क्षति नभएको प्रहरीले जनाएको छ।