बेलबारी : मोरङको बेलबारी नगरपालिका-७ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालित आधारभूत कम्प्युटर तालिमको विधिवत समापन भएको छ। बेलबारी-३ स्थित युनिक एजुकेसनले सहजीकरण गरेको तालिम एक महिना अवधि पूरा गरी समापन गरिएको बेलबारी-७ की वडाध्यक्ष सुनिता चौधरीले जानकारी दिइन्। उनका अनुसार बेलबारी-७ कै वडा कार्यालयको हलमा सञ्चालित सो तालिममा ३० जना प्रशिक्षार्थीले प्रशिक्षण लिएका थिए।

IMG_9886युनिक एजुकेसनका सञ्चालक कर्ण गिरीको सभापतित्वमा सम्पन्न तालिम समापन समारोहमा बेलबारी-७ की वडाध्यक्ष चौधरीको प्रमुख आतिथ्य रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा वडाध्यक्ष चौधरीले वडावासी नागरिकलाई सीपयुक्त जनशक्तिका रूपमा रूपान्तरण गरी बजारमा उतार्न वडा कार्यालयले बजेट विनियोजन गरी कम्प्युटर तालिम कक्षा सञ्चालन गरेको बताइन्। स्थानीयवासीको आवश्यकताका आधारमा यस्ता थप कार्यक्रम पनि वडाले सञ्चालन गर्दै जाने प्रतिबद्धतासमेत उनले व्यक्त गरिन् । वडाले दिएको कम्प्युटर तालिमले वडावासीमा जीवनोपयोगी सीप विकास गरी जीवनयापनलाई सहज बनाउने विश्वास पनि वडाध्यक्ष चौधरीले व्यक्त गरिन्।

IMG_9897यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी-७ का वडा सदस्य रामकुमार घिमिरेले वडाको बजेटमार्फत् आयोजना गरिएको तालिममा सिकेको सीपको प्रयोग गरी स्थानीयले आफ्नो आयस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरे। आफूले सिकेको सीप अन्य व्यक्तिमा पनि हस्तानान्तरण गर्दै यसको उपयोगिता बढाउनुपर्ने उनको भनाइ थियो।