बेलबारी : मोरङको बेलबारी नगरपालिका-३ मा सञ्चालित हाङपाङ सेकुवा हाउस एण्ड फ्रेस हाउसमा अज्ञात समूहले आगजनी गरेको छ। पूर्व–पश्चिम लोकमार्गनजिकै रहेको आफ्नो पसलमा गएराति अज्ञात समूहले आगजनी गरिदिएको पसल सञ्चालक रुक्मिणी राईले जानकारी दिइन्। उनका अनुसार तीन महिनाअघि सञ्चालनमा ल्याइएको पसलमा आगजनी गरिएपछि प्रहरीलाई जानकारी दिइएको भएपनि प्रहरीले हालसम्म अनुसन्धान टोली पठाएको छैन।

पसलको पछिल्लो भागमा लगाइएको जालीसमेत फुटेको देखिएकाले पसलमा चोरी गरिसकेपछि आगजनी गरिएको हुनसक्ने आशङ्का छ। यद्धपि, प्रहरी टोली आउन बाँकी रहेकाले क्षतिको आधिकारिक विवरण प्राप्त हुन सकेको छैन।

IMG-20240425-WA0002बेलबारीमा पछिल्लो एक महिनामा मात्र तीन वटा सहकारी र दुई वटा पसलमा चोरी हुनुका साथै दर्जनौँ साईकल र मोटरासाइकलसमेत हराएका छन्। यद्धपि, ती चोरीका घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गर्न सकेको नदेखिँदा बेलबारीको सुरक्षा व्यवस्थाप्रति सर्वसाधारण सशङ्कित हुन थालेका छन्।

IMG-20240425-WA0001यसैबीच, बेलबारी नगरपालिका-५ ढोकरधरस्थित एक घरमा गएराति चोरी भएको छ। स्थानीय ईश्वर बिष्टको घरबाट डेढ तोला सुनसहित जग्गाधनी पुर्जा चोरी भएको हो। अस्थायी प्रहरी चौकी सोमबारेबाट घरबाट एक सय मिटरको दूरीमा रहेको मकै बारीबाट धनीपुर्जा चोरी भएको सुटकेस बरामद गरेको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

IMG-20240425-WA0000