विराटनगर–४ स्थित नोबल टिचिङ्ग अस्पतालको अर्थो बिभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न  प्रेमी २२ वर्षीय शिवशंकर दास आत्महत्या गरेको अवस्थामा मृत भेटिएका छन्। 

विराटनगर –४ नोबल हस्पिटल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राति मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडीदेखि कोठामा बस्दै आएकी थिइन्।

उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठाभित्र  बाथरुममा शव भेटिएको थियो। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको थियो।

चन्द्रिका कुमारीको हत्या उनकै प्रेमी शिवशंकरले गरेर फरार भएपछि उनको खोजी कार्यमा प्रहरी लागि परेको थियो। फरार रहेका शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा भेटिएको एसपी कार्कीले बताए । ‘हत्यामा संलग्नको पहिचान भएपछि खोजी कार्यलाई हामीले तीव्र बनाएका थियौँ।

हामीले प्राविधिक रुपमा पनि अनुसन्धान गर्दै आएका थियौँ। तेही क्रममा आज दिउँसो विराटनगरको कन्चनबारीतिर शिवशंकरले प्रयोग गर्ने फोनको लोकेसन देखाएको थियो। ट्याक गर्दै खोजी गर्ने क्रममा होटल फाइनमा प्रहरी टोली पुगेको थियो। एउटा होटलको ढोका खुलेन। त्यसपछि ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा शव भेटिएको छ,’ एसपी कार्कीले भने।

शिवशंकरले आत्महत्या गरेको होटल नर्स चन्द्रिका कुमारीको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्दछ। शिवशंकर र चन्द्रिकाकुमारी चार वर्षदेखि प्रेमसम्बन्धमा थिए। शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए।

उनी वैदेशिक रोजगारमा गएपछि यता चन्द्रिका कुमारीको सिएमए सिराहाका अमिन धानुकसँग प्रेम सम्बन्ध बसेको थियो। ‘चन्द्रिकाकुमारीले प्रेममा धोका दिने भएपछि हत्या गरेको देखिन्छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘चन्द्रिकाको हत्या गरेँ। अब म पनि आत्महत्या गर्छु भनेर शिवशंकरले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको पनि रहेछन्।’

शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए। उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ। विराटनगर आएपछि उनी प्रेमी चन्द्रिकाकुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ। 

प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ। हत्यामा किचनमा प्रयोग हुने कटर प्रयोग भएको  छ।

उक्त कटर प्रहरीले बरामद गरेको छ। हत्यापछि शिवशंकर दुई दिन कता गए त्यो अनुस्न्धान भइरहेको एसपी कार्कीले बताए। आत्महत्या गरेका शिवशंकरको शवको सनाखत उनका दाजुले गरेका छन्। त्यसलगत्तै प्रहरीले घटनाको मुचुल्का उठाएको छ।