विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई तीर्थयात्रा र अवलोकन भ्रमणमा लगेको छ।
विराटनगर वडा नम्बर १ को आर्थिक सहयोगमा सो वडाका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा र अवलोकन भ्रमणमा लगेको हो। महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र सामाजिक विकास समितिका संयोजकसमेत रहनुभएका वडाध्यक्ष काजीबहादुर बस्नेतले तीर्थयात्रामा जाने ज्येष्ठ नागरिकहरूलाई विदाई गर्नुभयो।
उहाँहरूले खादा लगाएर सफल यात्राको समेत कामना गर्नुभएको थियो । वडाले ज्येष्ठ नागरिक हकहित संरक्षण मञ्चको संयोजनमा तीर्थयात्रामा लगेको वडाध्यक्ष बस्नेतले बताउनुभयो। वडाले हरेक वर्ष ज्येष्ठ नागरिकलाई तीर्थयात्रामा लाने गरेको उहाँले जानकारी दिनुभयो। मौलाकाली, स्वर्गद्वारी, रिडी, लुम्बिनीलगायत विभिन्न धार्मिकस्थलको भ्रमणपछि ज्येष्ठ नागरिकको टोली एकहप्तामा विराटनगर फर्किने मञ्चका सचिव ईश्वर खतिवडाले जानकारी दिनुभयो।
महानगरले तीर्थयात्रामा लगेकोमा ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गरेका छन् । भ्रमणमा सहभागी ज्येष्ठ नागरिक टीकाप्रसाद निरौलाले महानगरले अत्यन्तै राम्रो काम गरेको बताउनुभयो । महानगर र वडा समितिको जति नै प्रशंसा गरे पनि कमी हुने निरौलाको भनाइ थियो । स्वास्थ्यकर्मी, जनप्रतिनिधिसहित ५५ जनाको टोली भ्रमणमा गएको वडाध्यक्ष बस्नेतले बताउनुभयो । उहाँका अनुसार वडाको २ लाख रुपैयाँ बजेटबाट ज्येष्ठ नागरिकलाई भ्रमणमा लगेको हो ।