नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रश्नको घेराभित्र रहेका कुनै पनि व्यक्तिलाई सरकारमा नलैजाने नजीर बनाइनुपर्ने बताउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर आकस्मिक समयमा उहाँले प्रश्न उठेका व्यक्तिलाई गृहमन्त्री बनाइएकामा आपत्ति जनाउनुभयो। सांसद पौडेलले विगत केही दिनदेखि प्रमुख प्रतिपक्ष दलले प्रश्न उठाइरहे पनि सरकारले नसुनेको जिकिर गर्नुभयो। 

उहाँले भन्नुभयो, “आफूमाथि प्रश्नको जिम्मेवारी बोकेर गृहमन्त्री हुनु हुँदैनथ्यो। उहाँ प्रश्न गर्ने पेसाबाट आउनुभएको हो, त्यसैले प्रश्नलाई निषेध गर्न मिल्दैन। उठेका सवालको जवाफ दिनुपर्छ। प्रधानमन्त्रीले जवाफ नदिएसम्म कांग्रेसले यो प्रश्न उठाइरहनेछ।”

सांसद पौडेलले सहकारी पीडतको माग सम्बोधन गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद पौडेलले उठाउनुभएका विषयप्रति सभामुख देवराज घिमिरेले सरकारको ध्यानाकर्षण गराउनुभयो।