इलाका प्रहरी कार्यालय बेलबारीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। सुन्दरहरैंचा र बेलबारीबाट बुधबार प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका ३ बस्ने अन्दाजी ३० वर्षीया सुनिता राई, सुन्दरहरैंचा नगरपालिका ३ गछिया बस्ने २३ वर्षीय प्रज्वल सुवेदी र सोही स्थान बस्ने २० वर्षीय आशिष ठाकुरलाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए।
प्रहरीले सुनिताको घरमा लागू औषध बिक्री वितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरेको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीले सुनिताको घर खानतलासी गर्ने क्रममा १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, ३.५ केजी अवैध लागू औषध गाँजा र नेपाली नगद ५ लाख ३८ हजार २ सय ५०, डिजिटल तराजु २ थान र विभिन्न कम्पनीको मोवाईल २ थान समेत बरामद गरिएको छ।
त्यसैगरी सुन्दरहरैंचा नगरपालिका ३ गछियास्थितमा सोही स्थान बस्ने प्रज्वल र आशिष ठाकुरले आफ्नो पाईन्टको गोजीमा फेनारग १० थान, डाईजेपाम १० थान, एभिल १० थान र लुपिजेसिक १० थान सहित पैदल हिडि रहेको अवस्थामा पक्राउ गरिएको छ।
सोही मितिमा सुन्दरहरैंचा नगरपालिका–५ बलिया स्थितमा सोही स्थान बस्ने २४ वर्षीय संगम आचार्यलाई प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले १० थान डाईजेल्याव, ४ थान लुपिजेसिक र २ थान एभिल सहित पक्राउ गरी मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा ४ (चार) दिन म्याद थप गरी विस्तृत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।