विराटनगर महानगरपालिकाले वडा नम्बर १८ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
आर्थिक अभावका कारण गरिब तथा विपन्न व्यक्तिहरु अस्पताल जान समस्या हुने भएकाले वडामै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको महानगरले जनाएको छ । महानगरले हरेक वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।
जसबाट रोगको पहिचान भई समयमै उपचार हुँदा बिरामी चाँडै निको हुने गरे गरेका छन् । स्वास्थ्य शिविरको मेयर नागेश कोइरालाले अनुगमन गर्नुभयो । शिविरमा आउने नागरिकलाई कुनै समस्या हुन नदिन चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीहरुलाई निर्देशनसमेत दिनुभयो।महानगरले भौतिक पूर्वाधारको विकाससँगै नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान दिएको उहाँको भनाइ थियो ।
विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा सुगर, प्रेसर, क्षयरोग, बालरोग, यौनरोग, स्त्री तथा प्रसूति रोग, आँखा, कान, दन्त, फिजिसियनलगायतका सेवा उपलब्ध गराइएको महानगरको स्वास्थ्य महाशाखाका भोला तिम्सिनाले जानकारी दिनुभयो । शिविरमा आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
सो अवसरमा महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १८ का अध्यक्ष जितेन्द्र साहलगायतले वडावासीलाई सहज होस् भनेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताउनुभयो।
महानगरले गत वर्ष पनि १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। शिविरमा झण्डै ५ हजार व्यक्तिले स्वास्थ्य चेकजाँच गराएका थिए । यस वर्ष पनि महानगरले १९ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ।