सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरे पनि व्यवसायीहरूले अटेर गरेपछि वीरेन्द्रनगर नगरपालिका आफैले आज डोजर चलाएको छ।  वीरेन्द्रनगर नगरपालिका–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाएको हो। 

नगरपालिकाको डोजर आइसकेपछि केही व्यापारीले सामान उठाउन थाले पनि केही व्यापारी भने प्रतिकारमा उत्रिएका छन्। व्यापारीले ढुङ्गा मुढा हानेपछि नगरपालिकाको डोजरको सिसा फुटेको छ। झडपको स्थिति सृजना भएपछि नगरपालिकाको डोजर पछि हटेको छ।

सो क्रममा एक कर्मचारीले घाइते भएका छन्। यी सबै गतिविधि भइरहँदा नेपाल प्रहरी भने मूकदर्शक देखिएको थियो। प्रहरीले माथिबाट आदेश नआएको भन्दै मुकदर्शक बनेको हो। 

माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न अनुरोध गरेको थियो। नगरपालिकाले निकालेको सूचना फागुन २३ गते सकिएको छ। त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो। तर, व्यवसायीहरू संरचना हटाउनुको साटो  आन्दोलनमा उत्रिएका थिए।

यो क्षेत्रमा १२५ जना साना व्यवसायीहरूले व्यापार गरिरहेको छन्।