भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले विभिन्न भन्सार नाकाबाट हुने अवैध चोरी, निकासी तथा पैठारी रोक्न तस्करहरुको ‘सेटिङ’ भत्काइएको बताउनुभएको छ।

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज विभागले आयोजना गरेको ‘आर्थिक पत्रकारसँग भन्सार प्रक्रिया तथा सुधार’ विषयक अन्तक्र्रिया कार्यक्रममा  भन्सार नाकाबाट हुने सबै अवैध गतिविधि रोक्न नसकिए पनि तस्करको जालो भत्काउन विभाग केही हदसम्म सफल भएको दाबी गर्नुभयो। यद्यपि सुन लगायतका वस्तु अवैध रुपमा भित्रि रहेकामा त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्न भने नसकिएको उहाँले बताउनुभयो।

भन्सार कार्यालयमा हुने विभिन्न खालका सेटिङ भत्काउने काम भइरहेको छ तर तस्करहरु एक कदम अगाडि रहेर हाम्रा कमजोरी हेरेर योजना बनाउँछन्। अवैध वस्तु भन्सार छलेर कसरी सजिलै भित्रिन्छन्? भन्ने सञ्चारकर्मीको प्रश्नमा महानिर्देशक पौडेलले अपर्याप्त जनशक्ति तथा प्राविधिक क्षमताको अभाव, कर्मचारीको मिलेमतो, अन्तर निकाय समन्वय अभाव लगायतका समस्या रहेको बताउनुभयो।

सबै कर्मचारी राम्रा वा सबै नराम्रा छन् भन्ने पक्षमा आफू नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो। खुला सीमा अर्को चुनौती रहेको उहाँको भनाइ छ। भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन धातु एक्स–रे मेसिन खरिद आवश्यक रहेको पौडेलले बताउनुभयो ।