पूर्वका उद्योगी व्यवसायीहरुले करको दर वृद्धि गर्दा उल्टो भंसार राजस्व संकलन घटेको र आय कर समेत सरकारले नपाउने स्थिति बनेको बताएका छन् ।

विराटनगरमा आयोजना गरिएको कर अन्तक्रिर्या कार्यक्रममा सहभागि उद्योगी व्यवसायीहरुले सरकारबाट फिर्ता पाउने रकममा ढिलाई हुने गरेको गुनासो गरेका छन् । सहभागिहरुले खुला सिमाका कारण सरकारले लगाएको अत्यधिक करले उपभोक्ताहरुलाई भारतिय सिमावर्ती बजार तर्फजान बाध्य पारेको बताउनु भयो । उनिहरुले भंसार दर र अन्तशुल्क बढाएर मात्र राजस्व वृद्धि हुन नसक्ने भएकाले करको दर पूनरावलोकन गर्न आग्रह गरेका छन् ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीको उपस्थितिमा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उद्योगी व्यवसायीहरुले आगामी वर्षको बजेटमा करको दर समानुकुल बनाउन र भारतिय बजारलाई हेरेर निर्धारण गर्न माग गरेका थिए । 

सो कार्यक्रममा उद्योगी व्यवसायीहरुले भ्याट रिर्टन लिन अत्यधिक झंझट व्यहोर्नु परेकोले आन्तरिक राजस्व विभागले सरल आवश्यक प्रक्रिया बनाउनु पर्ने जिकिर गरेका थिए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी,पूर्वका उद्योगी व्यवसायीहरु, भंसार र आन्तरिक राजस्व कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।