बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरमा राखिएका दान पेटिकाबाट रु.एक करोड छ लाख ४० हजार भेटी सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०८०/८१ अन्तर्गत दोस्रो पटक शुक्रबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम सङ्कलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिनुभयो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा यही पुस १७ गते दान पेटिका खोलिएको थियो । मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको र सङ्कलित दान पारदर्शी बनाउने गरी गणनाको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

पछिल्लो समय लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । यसअघि कात्तिकमा खोलिएको यो आर्थिक वर्षको पहिलो दान पेटिका गणनाबाट रु.६४ लाख ७६ हजार नौ सय ६० सङ्कलन भएको थियो ।