विराटनगर महानगरपालिकाले महानगरलाई मोतियाबिन्दुमुक्त नगर बनाउने लक्ष्यका साथ निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
महानगरले विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग लिएर विराटनगरलाई मोतियाबिन्दुमुक्त नगर बनाउने अभियानअन्तर्गत शिःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।
अभियानअन्तर्गत महानगरले हरेक वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । शिविरबाट मोतियाबिन्दु पहिचान भएका बिरामीलाई विराटनगर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरी शिविरमा सामान्य समस्या भएकालाई औषधि र चस्मा वितरण गरिनेछ । आज विराटनगर वडा नं.९ बाट मोतियाबिन्दु मुक्त नगर बनाउने अभियान सुरु गरिएको छ ।
मेयर नागेश कोइरालाले आफ्नो आँखा जाँच गराएर शिविरको शुभारम्भ गर्नुभयो । उपचार अभावमा मोतियाबिन्दुको समस्या लिएर बस्न बाध्य महानगरवासीलाई निःशुल्क शल्यक्रिया गरेर मोतियाबिन्दुमुक्त बनाउने कार्य सुरु गरिएको मेयर कोइरालाले बताउनुभयो । उहाँले यसबाट बढीभन्दा बढी लाभ लिन महानगरवासीलाई आग्रह समेत गर्नुभयो ।
महानगरका १९ वडामा शिविर सञ्चालन गरी आँखासम्बन्धी औषधि वितरण र मोतियाबिन्दु भएका बिरामीहरु पहिचान गरिने स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । आँखा शिविर सञ्चालन गर्ने र मोतियाबिन्दुको पहिचान भएका बिरामीहरुको निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धमा महानगर र विराटनगर आँखा अस्पतालबीच सम्झौतासमेत भएको छ । सम्झौतापत्रमा महानगरका तर्फबाट मेयर कोइराला र अस्पतालका तर्फबाट मेसु डा। रक्षा पन्तले हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नं.९ का अध्यक्ष विश्वनाथप्रसाद भगत, स्वास्थ्य महाशाखा प्रमुख हैदर अली, विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका सदस्य राजन श्रेष्ठ, प्रबन्धक कुमार पृथुलगायतको उपस्थिति रहेको थियो ।