राष्ट्रपति रामचन्द्र पौडेलले गाउँमा विकास र सुविधा पुगे पनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट गरेका छन् । भानु नगरपालिका–७ वसन्तपुरस्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै आज राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका नेपालीहरु आफ्नै नाभीको सुगन्ध खोज्दै भिरभिरै भौँतारिने अवस्था रहेको गुनासो गरे ।
अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रमशक्तिको पलायन भएको उल्लेख गरे । “अहिले यहाँ पढ्ने र पढाउने दुवैथरी मेरा प्रशंसाका पात्र हुनुहुन्छ । यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो सहर पस्नुभयो । उतै बस्नु भयो । गाउँको समस्या यही हो । अब आज देशको समस्या प्रतिभा पलायन, श्रमशक्तिको पलायन मुलुकले भोगिरहेको समस्यामध्ये सबैभन्दा जटिल छ ।”
राष्ट्रपति पौडेलले शिक्षा ज्ञान, चेतना र देशको सर्वाङ्गीण विकासको आधारशिला भएको बताउँदै शिक्षाको साथसाथै जीवनको आदर्श उच्च बनाउने र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने नैतिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गरे। उनले भने, “सीपविना तथा आचरणविनाको नागरिकबाट देश समृद्ध हुन सक्दैन । सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि गरी सीपवान् र शीलवान् नागरिक बनाउनेतर्फ हामी सबैको ध्यान जानुपर्छ भन्ने मलाइ लाग्छ ।”
सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्वपरिवेशको मागअनुरुपको शीक्षा नीति, पाठ्यक्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तरअनुरुपको शिक्षा प्रदान गर्नेतर्फ अगाडि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।