गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनप्रति भइरहेको आलोचनाको जवाफ दिएका छन्। शुक्रबार सामाजिक सञ्जालमा मन्त्री गुरुङले वर्षौँदेखि हामीले वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएको पनि बताएका छन्। 

मन्त्री गुरुङले पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि आफूहरूलाई त्यही पुरानै शैली अपनाउन दबाब दिने गरेको देख्दा आफूलाई अचम्म लागेको टिप्पणी पनि गरेका छन्।

‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ (जेनेरेसन ग्याप),’ मन्त्री गुरुङको भनाइ छ। 

विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा रहेको भन्दै उनले चिन्ता लिन नपर्ने समेत बताएका छन्।

‘विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ चिन्ता लिनुपर्दैन। अनलाइनबाट हामी हरेक ४ घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू गरिरहेका छौँ’, मन्त्री गुरुङको भनाइ छ। 

डिजिटल माध्यमको प्रयोगले प्रशासनिक र उद्धारका कामहरू टेबल पछाडि बसेर भन्दा धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको दाबी मन्त्री गुरुङको छ। 

‘म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिन अनुरोध गर्न चाहन्छु’, आलोचकलाई गुरुङले भनेका छन्, ‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ।’