भोटेकोसी बाढीबाट प्रभावित नागरिकका तस्बिर, भिडियो तथा व्यक्तिगत विवरण सार्वजनिक गर्दा सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले मानवीय संवेदना, गोपनीयता र सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने भएको छ। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले विपद्को समाचार सम्प्रेषण गर्दा पीडितको मर्यादा र अधिकारमा प्रतिकूल असर नपर्ने गरी सामग्री प्रस्तुत गर्न आग्रह गरेका छन्।
बाढी प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला, बालबालिका, आफन्त गुमाएका परिवार तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिक आश्रय लिइरहेका छन्। यस्तो अवस्थामा उनीहरूको पहिचान खुल्ने व्यक्तिगत विवरण, तस्बिर वा श्रव्य दृश्य सामग्री सार्वजनिक गर्दा सम्बन्धित व्यक्तिको अवस्था र सुरक्षालाई ध्यान दिनुपर्ने मन्त्री तिमिल्सिनाको भनाइ छ।
विपद्को यथार्थ समाजसमक्ष पुर्याउनु सञ्चारमाध्यमको दायित्व भए पनि त्यस क्रममा पीडितको गोपनीयता, आत्मसम्मान र मानसिक अवस्थालाई बेवास्ता गर्न नहुने उनले बताएका छन्। होल्डिङ सेन्टरमा सम्बन्धित निकायसँग समन्वय नगरी प्रवेश नगर्न तथा उद्धार र राहत व्यवस्थापनमा अवरोध नहुने गरी समाचार सङ्कलन गर्नसमेत उनले सञ्चारकर्मीलाई आग्रह गरेका छन्।
मन्त्रालयले विपद्सम्बन्धी सूचना सम्प्रेषण गर्दा आधिकारिक स्रोतलाई आधार बनाउन अनुरोध गरेको छ। क्षति, उद्धार तथा राहतको अवस्थाबारे गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय विपद् व्यवस्थापन समितिबाट प्राप्त विवरणलाई प्राथमिकता दिनुपर्ने मन्त्रालयको आग्रह छ।
विपद्को समयमा अपुष्ट वा गलत सूचनाले सर्वसाधारणमा अनावश्यक त्रास उत्पन्न गर्नुका साथै राहत तथा उद्धार कार्यमै असर पार्न सक्ने मन्त्रालयको निष्कर्ष छ। त्यसैले अनुमान, कपोलकल्पित विवरण तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी तयार गरिएका भ्रामक सामग्री सार्वजनिक नगर्न पनि सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत गराइएको छ।
विशेष गरी बाढीमा ज्यान गुमाएका वा प्रभावित व्यक्तिका बीभत्स तस्बिर, भिडियो तथा संवेदनशील विवरण सामाजिक सञ्जालमा पोस्ट वा पुन:प्रसारण नगर्न मन्त्रालयले आग्रह गरेको छ। आफन्त गुमाएका परिवारले आफ्ना प्रियजनको भयावह अवस्था वा शवसम्बन्धी सामग्री देख्दा थप मानसिक आघात व्यहोर्नुपर्ने अवस्था आउन सक्ने मन्त्रालयको भनाइ छ।












