परराष्ट्र मन्त्रालयले बाढी तथा पहिरो प्रभावित क्षेत्रका सुरुङहरूमा भएको उद्धार र मानवीय क्षतिको यकिन विवरण संकलन भइरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उद्धार कार्य र आगामी कार्ययोजनाबारे जानकारी दिएका हुन्।
उद्धार कार्यमा प्रयोग भइरहेका मेसिनरी तथा उपकरणहरूको अभाव र गुणस्तरबारे सोधिएको प्रश्नमा प्रवक्ता क्षेत्रीले उपकरणको आवश्यकता महशुस गरी थप सहयोगका लागि साझेदार निकायहरूसँग अनुरोध गरिएको जानकारी दिए।
‘सुरुङ र त्यसको वरपरको क्षेत्रबाट शवहरू निकालिएको रिपोर्ट प्राप्त भएपनि ती सुरुङभित्रका हुन् वा बाहिरका हुन् भन्नेबारे मन्त्रालयले विवरण अद्यावधिक गरिरहेको छ। सम्बन्धित निकायबाट आधिकारिक जानकारी प्राप्त हुनासाथ यसबारे थप प्रष्ट पारिनेछ,’ उनले भने।
यद्यपि, प्रयोगमा रहेका उपकरणहरू बिग्रिएको वा काम नलाग्ने अवस्थामा रहेको भन्नेबारे मन्त्रालयलाई कुनै औपचारिक जानकारी प्राप्त नभएको उनले बताए।
‘कुन क्षेत्र बसोबास योग्य छ र कुन छैन भन्ने विषयमा सम्बन्धित निकायहरूले अध्ययन गरिरहेका छन्। खोज र उद्धारको कार्य सकिएपछि मात्र रेजिलेन्ट रिकन्स्ट्रक्सन (उत्थानशील पुनर्निर्माण) को योजनाअनुसार विस्तृत अध्ययन अघि बढाइनेछ,’ उनले भने।
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण र भविष्यमा बसोवासको सम्भाव्यताबारे बोल्दै प्रवक्ता क्षेत्रीले हाल सरकारको मुख्य प्राथमिकता खोज तथा उद्धारमा रहेको पनि उनले जानकारी गराए।












