अन्तर्राष्ट्रिय सुरुङ उद्धार विज्ञ तथा अस्ट्रेलियाली इन्जिनियर प्राध्यापक आर्नोल्ड डिक्सले भदौ १० मा गएको विनाशकारी बाढीमा नेपाली उद्धारकर्ताहरुले सम्भव भएसम्म सबै प्रयास गरेको बताएका छन्। 

नेपाली उद्धारकर्ताहरुले सुरुङभित्रका कामदारको उद्धारका लागि गरेको प्रयासलाई नजिकबाट नियाली रहेका डिक्सले यस किसिमको विषम परिस्थितिमा उद्धारकर्मीहरुले गरेको प्रयास अभूतपूर्व भएका बताएका हुन्। 

सन् २०२३ मा भारतको सिल्क्यारा सुरुङमा फसेका ४१ जना कामदारको उद्धारमा सहयोग गरेका डिक्सले अहिलेको नेपालको परिस्थिति आफूले सामना गरेका सबैभन्दा कठिन परिस्थितिहरु मध्येको एक भएको बताउँदै जलविद्युत् संरचनाहरुमा रहेको ठूलो परिणामको अस्थिर माटो र जमिन मुनि पुरिएका कारण अपेक्षित सफलता हात पर्न नसकेको बताए।