व्हाट्सएपले प्रयोगकर्ताको अकाउन्ट ह्याक हुने जोखिम कम गर्न नयाँ सुरक्षा सुविधाहरू सार्वजनिक गरेको छ। कम्पनीले अकाउन्ट टेकओभर, फिसिङ र अन्य अनलाइन ठगीबाट जोगाउन थप बलियो सुरक्षा उपाय ल्याएको जनाएको छ।
नयाँ अपडेटअन्तर्गत अब प्रयोगकर्ताले दुई–चरणीय प्रमाणीकरणमा प्रयोग हुने ६ अंकको पिनको सट्टा अक्षर, अंक र विशेष चिन्ह समावेश भएको लामो पासवर्ड राख्न सक्नेछन्। यसले पासवर्ड अनुमान गर्न अझ कठिन बनाउने कम्पनीको विश्वास छ। त्यसैगरी, अब एउटै व्हाट्सएप अकाउन्टमा एकभन्दा बढी पासकी थप्न सकिने सुविधा पनि उपलब्ध हुनेछ।
आईओएस र एन्ड्रोइड दुवै उपकरण प्रयोग गर्ने प्रयोगकर्ताका लागि यो सुविधा उपयोगी हुने कम्पनीले जनाएको छ। सन् २०२४ मा सुरु गरिएको पासकी प्रणालीले पासवर्डको सट्टा फेस आईडी वा फिङ्गरप्रिन्ट प्रयोग गरेर लगइन गर्न मिल्ने सुविधा दिन्छ। यसले प्रयोगकर्ता नाम र पासवर्ड चोरी गरेर गरिने फिसिङ आक्रमणको जोखिम उल्लेखनीय रूपमा घटाउने बताइएको छ।
यसका साथै, अपरिचित नम्बरबाट आउने कलका बारेमा थप जानकारी देखाउने सुविधा पनि थपिएको छ, जसले शंकास्पद कल पहिचान गर्न प्रयोगकर्तालाई सहयोग गर्ने कम्पनीको भनाइ छ।
हालका वर्षहरूमा अनलाइन ठगी र ह्याकिङका घटना बढ्दै गएपछि व्हाट्सएपसहित सिग्नल र टेलिग्रामजस्ता मेसेजिङ प्लेटफर्महरूले प्रयोगकर्ताको सुरक्षा मजबुत बनाउन यस्ता नयाँ सुरक्षा सुविधा थप्ने क्रम तीव्र बनाएका छन्।












