नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारी कोषमा राहत र रकम जम्मा भएपनि रसुवा बाढी पीडित नागरिकहरू भोकभोकै बस्नु परेको बताएका छन्।
सोमबार पार्टी कार्यालयमा एमाले बागमती र राजधानी प्रदेशले जम्मा गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
एमालेले राहत सङ्कलन र वितरणमा सरकारको मात्र भर नपरी सबैसँग समन्वय गर्न चाहेको ओलीको भनाइ छ।
‘केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन’, ओलीले भने, ‘यो स्थितिलाई अन्त्य गरौँ भनेर प्रयास गरिरहेका छौँ।’
ओलीले रास्वपा सांसद र मन्त्रीहरूलाई लक्षित गर्दै, केहीले नागरिकलाई हप्कीदप्की गरेर फर्किने, केहीले आधारहीन निर्देशन दिने र केहीले समस्यामाथि थप समस्या सिर्जना गर्ने टिप्पणी गरे।
'कोही जान्छन् नागरिकलाई हप्कीदप्की गरेर फर्किन्छन्, बडप्पन देखाउँछन्। कोही जान्छन् आधारहीन निर्देशन दिएर फर्किन्छन्। कोही समस्यामाथि समस्या थपेर फर्किन्छन्,' उनले भने।
विपद्पछि केन्द्रीय सरकारलाई खोज्नुपर्ने अवस्था रहेको टिप्पणी समेत गरे।
'यस्तो अवस्थामा सरकार कहाँ छ खोज्नुपर्छ। कहिले कहिले हेलिकोप्टरमा उडेको देखिन्छ। घरको छतमा मान्छे छ भने निकालेको देखिन्छ। यस्तै यस्तै काम गएको देखिन्छ। तैपनि धन्यवाद, केही त गरेको छ,' ओलीको भनाइ छ।
उनले निजी क्षेत्रका हेलिकोप्टरलाई उद्धारमा प्रयोग गर्न सरकारले रोक लगाएको भन्दै असन्तुष्टि जनाए। उद्धारका लागि तालिम प्राप्त जनशक्ति र हेलिकोप्टर भएका निजी क्षेत्रलाई परिचालन गर्न दिए थप प्रभावकारी उद्धार हुनसक्ने भए पनि सरकारको त्यसतर्फ ध्यान नगएको बताए।
अध्यक्ष ओलीले सुरुङमुनि तथा अन्य जोखिमयुक्त क्षेत्रमा हेलिकोप्टरबाट मात्र उद्धार सम्भव नहुने उल्लेख गरे। पीडितलाई आफन्तको खोजी गर्न समेत सरकारले नदिएको भन्दै आपत्ति जनाए।












