मनमोहन प्राविधिक विश्वविद्यालयको सहकुलपति तथा कोशी प्रदेशको सामाजिक विकास मन्त्री गीता तिम्सिनाले प्रदेशको शैक्षिक क्रान्तिलाई अगाडी बढाउन सरकारले निरन्तर सहयोग गर्ने बताउनुभएको छ।
मनमोहन प्राविधिक विश्वविद्यालयको आइतबार अवलोकन भ्रमण गर्दै सहकुलपति समेत रहनुभएका मन्त्री तिम्सिनाले कोशीका विद्यार्थीहरूलाई प्राथमिकता दिएर उच्च प्राविधिक अध्ययन अनुसन्धान गराउने कार्य शैक्षिक क्रान्ति भएकोले स्तरोन्नति गराउन सरकारले निरन्तर सहयोग गरिरहने बताउनुभएको हो।
मन्त्रालयका सचिव विष्णुप्रसाद कोइराला सहित कोशी प्रदेशको गौरवका रूपमा रहेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयलाई पूर्ण रूपमा स्तरोन्नति गराएर देश विदेशमा चिनाउनु प्रदेश सरकारको पनि कर्तव्य भएको मन्त्री तिम्सिनाले बताउनुभयो। उहाँले मनमोहनले प्रदेशका उद्योग व्यवसाय र भूगोलका लागि आत्मनिर्भर प्राविधिक जनशक्ति उत्पादनमा अझै प्राथमिकता दिनुपर्नेमा जोड दिँदै थप भौतिक संरचना र विज्ञ जनशक्तिको विकासका लागि प्रदेश सरकारले चासो दिइरहेको जानकारी गराउनुभयो। मन्त्री तिम्सिनाले भन्नुभयो, ‘छोटो समयमै देशमा चिनिएर गुणस्तरीय प्राविधिक शिक्षा दिन सफल भइरहेको मनमोहन विश्वविद्यालयलाई अब अन्तर्राष्ट्रिय स्तरमा पनि चिनिने बनाउनुपर्छ यसका लागि सरकार सधैँ साथमा रहनेछ।’
मन्त्रालयका सचिव विष्णुप्रसाद कोइरालाले सफल रूपमा सञ्चालन भइरहेको मनमोहन विश्वविद्यालयलाई सरकारले आफै आत्मनिर्भर बनाउनेतर्फ सोच अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले चाँडै अस्पताल हस्तान्तरण गराएर मेडिकलतर्फका शैक्षिक कार्यक्रमहरू सञ्चालन गराउन प्रदेश सरकारले तयारी गरिरहेको जानकारी गराउनुभयो। विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले सञ्चालनमा भएका शैक्षिक कार्यक्रमहरूको प्रगति, समस्या र चुनौतीहरूबारे मन्त्री तिम्सिनालाई जानकारी गराउनुभयो। उहाँले चाँडै डिजिटल लाइब्रेरी र विज्ञ प्राध्यापकहरूका लागि शिक्षक केन्द्र स्थापना गर्न लागेको, बीटेक इन्जिनियरिङ र विएस्सी नर्सिङ सहित दुई विषयमा पिएचडी कार्यक्रमहरू सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो। देशलाई अति आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि प्रदेश सरकारले एक पटक मन्त्रालय सरह प्राथमिकता दिएर बजेट विनियोजन गराएमा संरचनाहरूको निर्माण पूर्ण जानकारी गराउनुभयो। मन्त्री तिम्सिनालाई उपकुलपतिले आग्रह गर्दै भन्नुभयो ‘मन्त्री ज्यू!बजेटको सीमितताले घस्रिरहेको विश्वविद्यालय एकपटक प्राथमिकतासाथ बजेट पाए भ्यागुतो जस्तै उफ्रेर आफ्नो लक्ष्य भेटाउन सफल हुने थियो।’
कोशी प्रदेश सरकारले स्थापना गरेर सञ्चालन गरिरहेको मनमोहन प्राविधिक विश्वविद्यालयको पहिलो पटक अवलोकन भ्रमण गर्नुभएका सामाजिक विकास मन्त्री तथा सहकुलपति तिम्सिनालाई उपकुलपति डा सुवासश्री पोखरेल, आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका प्रचार्य इन्जिनियर सुदिप अधिकारी सहित केन्द्रीय कार्यालय र विभागीय अधिकारी र शिक्षकहरूले स्वागत गर्दै प्रयोगशाला र भौतिक संरचनाहरूको भ्रमण गराएका थिए।
२०७६ सालमा स्थापना भएको कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले हाल इन्जिनियरिङ, कानुन , फार्मेसी र अस्पताल व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहका कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ। यसैगरि आंगिक शिक्षालय मनमोहन पोलिटेक्निक मार्फत विभिन्न आठ वटा विषयमा तीन बर्षे डिप्लोमा इन्जिनियरिङ विषयको पढाई पनि सञ्चालन गराइरहेको छ।












