भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा जिल्लामा रहेका आठ प्रमुख जलविद्युत् आयोजना नराम्ररी प्रभावित भएका छन्। बाढीले सञ्चालनमा रहेका पाँचवटा आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गराएको छ भने निर्माणाधीन अवस्थामा रहेका तीनवटा ठूला आयोजनाका भौतिक संरचनामा गम्भीर क्षति पुर्याएको छ। यससँगै रसुवा जिल्लामा मात्रै ५७८.४२ मेगावाट क्षमता बराबरका जलविद्युत् संरचना बाढीको चपेटामा परेका छन्। 

नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रद्वारा प्रवद्र्धित सञ्चालनमा रहेका आयोजनाहरू बाढीको प्रत्यक्ष मारमा परेका हुन्। बाढीका कारण प्राधिकरणको सहायक कम्पनी अन्तर्गत सञ्चालित १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादन पूर्ण रूपमा ठप्प भएको छ। यस्तै, निजी क्षेत्रबाट सञ्चालित ७८ मेगावाट क्षमताको सान्जेन खोला (सालासुङ्गी), २० मेगावाटको लाङटाङ खोला र ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाको बाँधस्थल तथा विद्युत्गृह क्षेत्र प्रभावित हुँदा ती आयोजनाहरूबाट समेत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति रोकिएको छ। यी पाँच आयोजनाबाट राष्ट्रिय प्रणालीमा जोडिँदै आएको कुल २३६ मेगावाट विद्युत् हाल पूर्ण रूपमा विच्छेद भएको छ।

अर्कोतर्फ, बाढी र पहिरोले निर्माणाधीन राष्ट्रिय गौरव तथा प्रत्यक्ष वैदेशिक लगानीका ठूला आयोजनाहरूमा समेत ठूलो धक्का पुर्याएको छ। कोरियाली लगानीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका भौतिक संरचनाहरू बाढीका कारण क्षतिग्रस्त भएका छन्। त्यसैगरी, १२० मेगावाटको रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको मुख्य संरचना तथा पहुँचमार्गमा क्षति पुगेको छ भने ६.४२ मेगावाट क्षमताको निर्माणाधीन माथिल्लो मैलुङ–ए आयोजना पनि बाढीका कारण प्रभावित भएको छ। यसरी निर्माणाधीन ३४२।४२ मेगावाट क्षमताका तीन आयोजनामा प्रत्यक्ष क्षति पुगेको प्रारम्भिक विवरणले देखाएको छ।

बाढीको तीव्र बहावले आयोजना स्थलसम्म पुग्ने पहुँचमार्ग तथा पुलहरूमा समेत क्षति पुगेकाले प्राविधिक टोलीलाई स्थलगत निरीक्षणमा कठिनाइ भइरहेको छ। बाढीको सतह घटेपछि मात्रै आयोजनाहरूमा भएको भौतिक तथा आर्थिक क्षतिको यकिन विवरण आउने र पुनर्निर्माण तथा मर्मतको कार्य अघि बढाइने जनाइएको छ।