प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। उनले दशकौँपछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्दै आएको स्पष्ट पारे।
प्रहरी महानिरीक्षक कार्कीले लामो इतिहास बोकेको प्रहरी सङ्गठनले त्यस्ता घटनालाई नबिर्सने बताए। “व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन्। तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो। यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न”, उनले भने।
यद्यपि, त्यस्ता मुद्दामा चाहेजस्तो सफलता प्राप्त नभइरहेको महानिरीक्षक कार्कीको स्वीकारोक्ति थियो।
पुराना चर्चित घटनालाई विशेष टोली गठन गरेर अनुसन्धान गरिरहेको जानकारी दिँदै उनले त्यसबाट केही-केही घटनामा राम्रो सफलता मिलेको सुनाए। प्रहरी महानिरीक्षक कार्कीले केन्द्रीय अनुसन्धान व्यूरोमार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान चलिरहेको जानकारी दिए।
“प्रहरी कर्मचारीलाई स्वचालित र उत्प्रेरित गर्न पछिल्लो समय कार्यसम्पादन सूचक तयार गरेका छौँ”, उनले भने, “यो पूर्वानुमानयोग्य छ। कामका आधारमा मूल्याङ्कन हुन्छ, जसले व्यक्तिलाई सुधार्ने मौका पाउँछ।” महानिरीक्षक कार्कीले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको उल्लेख गर्दै त्यसबाट नागरिकलाई प्रहरी कार्यालयसम्म पुग्नु नपर्ने अवस्था सुनिश्चित गरेको बताए।
“उहाँहरू घरबाटै पनि आफ्ना आवेदन तथा निवेदन दिन र त्यसबारे बुझ्न सहज हुने गरी प्रणालीको विकास गरिएको छ”, उनले भने, “नेपाल पुलिस एपमार्फत धेरै सेवा लिन सकिने छ ।” पछिल्लो समय प्रविधिजन्य र आर्थिक अपराधका घटना वृद्धि हुँदै गइरहेको जनाउँदै उनले ती घटनाका अनुसन्धान गर्न सोहीअनुसार जनशक्ति भर्ना र परिचालनको आवश्यकता महसुस गरिएको बताए।
उनले विशिष्टीकृत अनुसन्धान इकाई गठन गरिएको पनि जानकारी दिए। महानिरीक्षक कार्कीले अपराधको विश्वव्यापी सञ्जाललाई निस्तेज पार्न विभिन्न देशका प्रहरी सङ्गठन र इन्टरपोलको माध्यमबाट अन्य मुलुकका विशिष्टीकृत, विकसित र लोकप्रिय अनुसन्धानमूलक इकाइसँग आवश्यक समन्वय गरिएको जनाए। उनले प्रविधिको प्रयोगबाट भएका आपराधिक क्रियाकलाप रोक्न प्रहरी सङ्गठन सक्षम हुने विश्वास व्यक्त गरे।
“प्रहरीलाई प्राप्त जिम्मेवारीमा सफलता हासिल गर्न आमनागरिकको सहयोगको अपेक्षा सदैव छ”, उनले भने, “आपराधिक प्रवृत्ति भएका मान्छेका बारेमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्दछु।”












