नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र नेकपा मसालसँग भएको सहमति कार्यनीति मात्र नभएको जिकिर गरेका छन्।
आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा तीन बुँदे सहमतिको बचाउ गर्दै प्रचण्डले सम्पूर्ण कम्युनिस्ट शक्तिहरू एकजुट भएर आन्दोलनको तयारी गर्न अपिल गरे।
‘एमाले र मसालसँग भएको सहमति कुनै ट्याक्टिस मात्र होइन। सोच विचार गरिकन रणनीतिका साथ सहमति गरेको हो। सुगौली सन्धिपछि राष्ट्रियतामा यति धेरै सङ्कट आएको थिएन’, उनले भने, ‘यो ठुलो तयारीका साथ सोचविचार गरेर सहमति गरेको हो। विगतका कमी कमजोरीबाट शिक्षा लिएर सम्पूर्ण कम्युनिस्ट पार्टीहरू मिलेर रणनीतिका साथ आन्दोलनको तयारी गर्नुपर्छ।’












