अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ का वडा सचिव अजयकुमार शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने बहानामा सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको अभियोगमा आयोगले उनीविरुद्ध शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वडा सचिव शाहले नियमानुसार रीत पुर्‍याएर दिनुपर्ने सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीलाई दुःख हैरानी दिई घुस माग गरेको उजुरी परेको थियो।

सोही सूचनाका आधारमा अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले शाहलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा शाहले आफ्नो पद तथा अधिकारको दुरुपयोग गर्दै जानाजानी ढिलासुस्ती गरी दर्ता सहजीकरण गर्ने बहानामा १० हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको भन्दै मुद्दा दायर गरिएको हो।