विभिन्न हिन्दूवादी सङ्घसंस्था आबद्ध युवाहरूले जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका कार्यकर्तालाई लखेटेका छन्। पार्टी अध्यक्ष हर्क साम्पाङलाई स्वागत गर्न बसेका श्रम संस्कृति पार्टीका कार्यकर्ताहरूलाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन्।
हिन्दू सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने जनाएका थिए। सो क्रममा तनावको अवस्था सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो। त्यसलगतै हिन्दू सम्राट सेनाका कार्यकर्ताहरू प्लेकार्डसहित मन्दिरको बाहिर गेटमा बसेका थिए।
पार्टी कार्यक्रममा सहभागी हुन जनकपुर जाँदा अध्यक्ष साम्पाङले मन्दिरको दर्शन गर्ने तयारी गरेका थिए। मन्दिरबाट आफ्ना कार्यकर्ता लखेटिएपछि अध्यक्ष साम्पाङले मन्दिर प्रवेशमा रोक लगाउने गरी कसैले राजनीति गर्न खोजेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत उनले श्रमदाताहरूलाई दुर्व्यवहार भएको भन्दै संयमित हुन समेत आग्रह गरेका छन्।