मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा एक शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपपछि सुरु भएको अनुसन्धानका क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार घटनाको अनुसन्धानका क्रममा संलग्नता देखिएका सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, ३० वर्षीय किशोरलाल गच्छदार र ३५ वर्षीय अविरल मास्केलाई साउन ४ गते बिहान १० बजे नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको हो।
उक्त घटना सार्वजनिक भएपछि विद्यालयका विद्यार्थीहरूले सम्बन्धित शिक्षकविरुद्ध प्रदर्शन गरेका थिए। सोही घटनालाई आधार बनाएर प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।
विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघको संयुक्त बैठकले कानुनी प्रक्रियालाई सहज बनाउन तथा निष्पक्ष छानबिनका लागि आरोपित व्यक्तिहरूलाई तत्काल निलम्बन गरेको छ।
प्रहरीका अनुसार घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको पाइए कानुनबमोजिम कारबाही गरिनेछ। साथै अनुसन्धान जारी रहेकाले सामाजिक सञ्जालमा अपुष्ट तथा अनावश्यक टिप्पणी नगर्न जिल्ला प्रहरी कार्यालय मोरङले सर्वसाधारणसँग आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको निष्पक्ष अनुसन्धान भइरहेको जनाउँदै अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।




















