डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको छ।

डडेल्धुराको जोगबुडा घर भएका जोशी ड्युटीकै क्रममा अचानक बिरामी परेका थिए। गत असार २७ गते राति ड्युटीमा रहेका बेला उनको पेटमा एक्कासि तीव्र दुखाइ भएपछि उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो।

जिल्ला अस्पतालमा उपचार भइरहेका बेला उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि चिकित्सकले थप उपचारका लागि अत्तरियास्थित अस्पताल रिफर गरेका थिए। प्रहरीका अनुसार अत्तरिया अस्पतालमा उपचारकै क्रममा आइतबार बिहान जोशीको मृत्यु भएको हो।

उनको मृत्युको यकिन कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रहरीले जनाएको छ। जोशीको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।