गत बिहीबार आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव आइतबार बिहानसम्म पनि परिवारले बुझेका छैनन्। नेपालीको शव अहिले पनि टिचिङ अस्पतालमा राखिएको छ। परिवारले शव नबुझ्दा पोस्टमार्टम पनि हुन सकेको छैन।
नेपालीलाई शहीद घोषणा गर्नुपर्ने, मोटरसाइकलमा ह्वील लक लगाएर आत्मदाह गर्न बाध्य पार्ने महानगर प्रहरीलाई कारबाही र परिवारलाई उचित क्षतिपूर्तिको मागसहित शनिबार राति जिल्ला प्रशासन कार्यालय काठमाडौंमा वार्ता भएको थियो।
वार्ता निष्कर्षविहीन भएपछि आइतबार बिहान बस्ने भनिएको वार्ता अहिलेसम्म बसेको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सीडीओ कार्यालयमा पुनः वार्तामा बस्ने तयारी छ। ‘हिजोको वार्तामा सहमति नभएपछि आज पुनः वार्तामा बस्ने भनिएको छ, अब केही बेरमा द्विपक्षीय वार्तामा बस्ने तयारी छ,’ उनले भने।
वार्तामा पीडित परिवार र प्रमुख जिल्ला अधिकारी एवं अन्य सुरक्षा निकायका सदस्य सम्मिलित हुनेछन्।




















