कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, सांगेतरास्थित कर्णाली नदीमा बेपत्ता भएका मध्ये थप दुईजनाको शव बिहीबार साँझ फेला परेको छ। योसँगै दुर्घटनामा मृत्यु भई सनाखत हुनेको संख्या तीन पुगेको छ।

आफन्तले घटनास्थलमा पुगेर शव बुझिसकेका जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं डीएसपी श्रवणकुमार विकले जानकारी दिए।

पहिचान खुल्नेमा यसअघि भीरमा शव फेला परेका कालीकोटको पचाल झरना गाउँपालिका–९ का जेखे तिरुवा, सोही ठाउँका बेपत्ता भनिएका मेखे तिरुवा र कालीकोटकै रास्कोट नगरपालिका–२ की १८ वर्षीया सुजना खड्का छन्। उनीहरूको ठेगाना र विवरण पहिचान भई आफन्तद्वारा सनाखत भइसकेको प्रहरी प्रमुख विकले जानकारी दिए।

सवारीचालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी र उनका सहोदर भाइ (सहचालक) रामु सुवेदीको अवस्था अझै अज्ञात छ।

घरका मुख्य सहारा नै नदीमा डुबेकाले परिवार, आफन्त र छरछिमेक यति बेला गहिरो शोकमा रहेका बेपत्ता दाजुभाइका काका दिल्ली सुवेदीले बताए।

यही असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो। सशस्त्र प्रहरी बलको गोताखोर टोलीसहितको संयुक्त सुरक्षा निकायले नदी र आसपासका क्षेत्रमा बाँकी बेपत्ताको खोजी जारी राखेको छ।