सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले कतिपय वन नभएका क्षेत्रलाई समेत वनक्षेत्रका रूपमा परिभाषित गरिँदा जनताले दुःख पाइरहेको उल्लेख गर्दै त्यसमा संशोधनको माग गरेका छन्।

उनले बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै फिल्डमा दशकौंदेखि वन नभएका कतिपय भूभागलाई कागजमा वनक्षेत्रका रूपमा परिभाषित गरिएको उल्लेख गरे।

'मोरङ - ३ को कानेपोखरी बजार स्थापना भएको ६० वर्ष पूरा भयो। आजसम्म त्यो बजार कागजी रूपमा वनक्षेत्रमा पर्छ। १९८३ असार १५ गते दही चिउरा खाएर सुरू भएको वयनबन बजार आज ठ्याक्कै १०० वर्ष १० दिनको भयो। त्यहाँ पनि भूमिको समस्या छ,' उनले भने, 'नेपाली व्याकरण अनुसार वनको क्षेत्रको समासलाई वनक्षेत्र भनिन्छ। तर नेपालको राजनीतिले वन नभएको क्षेत्रलाई वनक्षेत्र बनाएर जनता र व्याकरणको हुर्मत लिइरहेको छ।'

उनले मोरङ - ३ का नागरिकका तर्फबाट २०६६ माघ २८ गते वन नभएको क्षेत्रलाई वनक्षेत्रबाट हटाउने अध्यादेशको व्यवस्था स्वागतयोग्य रहेको उल्लेख गरे।

'त्यही व्यवस्थालाई कानुन बनाएर त्यसको प्रयोग हेर्न हामी आतुर अवस्थामा छौं,' उनले भने।