त्रिपुरेश्वरस्थित राहदानी विभागको प्रवेशद्वार अगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १ः४५ बजे काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट अगाडि मुगु सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका हुन्।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार नेपालीले विभाग अगाडी मोटरसाइकल पार्किङ गरेको र बाइकमा महानगर प्रहरीले व्हील लक लगाइदिएको थियो। आफ्नो बाइकमा व्हील लक लगाएको भन्दै बाइकबाटै पेट्रोल निकालेर उनले शरीरमा आगो लगाएका हुन्। 

आगो लगाएपछि घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो। अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनी बोल्न सक्ने अवस्थामा भए पनि शरीरका विभिन्न भाग जलेका छन् र अवस्था गम्भीर रहेको छ।