प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले निजी क्षेत्रलाई 'ड्राइभिङ सिट'मा राखेर अर्थतन्त्रलाई अगाडि बढाउने बताएका छन्।
बुधबार निजी क्षेत्रको छाता संगठनका प्रतिनिधिहरूसँग औपचारिक छलफल गर्दै प्रधानमन्त्री बालेनले निजी क्षेत्रलाई 'ड्राइभिङ सिट'मा राखेर अर्थतन्त्रलाई अगाडि बढाउने बताएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित छलफलमा मुलुकको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकार–निजी क्षेत्रबीचको सहकार्यका विषयमा छलफल भएको थियो।
छलफलमा निजी क्षेत्रका तीनवटै ठूला संगठनका प्रतिनिधि सहभागी थिए।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठ, महासंघका उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ (सीएनआई)का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी थिए।
निजी क्षेत्रसँग पहिलो पटक औपचारिक छलफल गरेका प्रधानमन्त्री बालेनले अहिलेसम्म जे-जस्तो भए पनि आगामी दिनमा अन्तरक्रियालाई निरन्तरता दिने बताए।
निजी क्षेत्रको मनोबल बढाउने आश्वासन प्रधानमन्त्रीले दिएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए।
उनका अनुसार प्रधानमन्त्री बालेनले सरकारको मुख्य प्राथमिकता नै आर्थिक समृद्धि रहेको स्पष्ट पारे। 'सबै क्षेत्रमा देखिएका समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ ? ती समस्या समाधानका लागि सरकारले कसरी ऐन र कानूनमा सुधार गर्न सक्छ ? त्यसका लागि सरकार तयार छ,' प्रधानमन्त्री बालेनको भनाइ उद्धृत गर्दै अग्रवालले भने, 'हामी सरकारमा आउनुको मुख्य उद्देश्य नै ५ वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नु हो भन्दै प्रधानमन्त्रीज्यूले खुलस्त रूपमा समस्याको समाधानका लागि आउन आग्रह गर्नुभएको थियो।'




















