लगातार दुईपटक पेनाल्टी अवसर सदुपयोग नहुँदा पनि लियोनल मेसीले हिम्मत हारेनन्। इन्जोलाई चोटले पनि रोकेन। निर्धारित समयको ७९औँ मिनेटसम्म असफल भए पनि प्रयास जारी नै रह्यो।

यसपछिका २३ मिनेट यति शान्दार बन्यो कि अमेरिकाको एट्लान्टा रंगशालाको माहोल चुपचाप स्थितिबाट एक्कासि थर्कमान बन्यो। मेसी आफैँ पनि भावुक भए। २–० ले पछाडि परेको स्थितिलाई उल्ट्याउँदै ३–२ को रोमाञ्चक जित निकालेपछि जितको खुसी आँसुबाट व्यक्त भए। फिफा विश्वकपको साविक विजेता अर्जेन्टिनाले यसरी विश्वकपको महाकुम्भको जारी संस्करणमा ‘नाटक मञ्चन’ गर्‍यो।  

त्यसैले हो, स्टार खेलाडी र गौरभमय इतिहास बोकेका ब्राजिल, जमर्नी, नेदरल्यान्ड्स, क्रोएसियाजस्ता दाबेदार राष्ट्र प्रतियोगिताबाट बाहिरिँदा अमेरिकी राष्ट्र अर्जेन्टिना मैदानमा टिकिरहेको। कठोर मिहिनेतपछिको जितको बारेमा खुसी व्यक्त गर्न मुख्य प्रशिक्षक लियोनल स्कालोनीले पनि शब्द भेटाएनन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार उनले खेलपश्चात भने, “म तपाईहरूसँग आँखा जुधाएर कुरा गर्ने स्थितिमा छैन। मलाई माफ गरिदिनु होला। म धेरै भावुक भएको छु। कति मिहिनेती टिम पाएको छु। यही नै अर्जेन्टिनाको बलियो पक्ष हो।”

messi-1783494292यो जितसँगै अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान बनाएको छ। अब अर्जेन्टिनाले सेमिफाइनलमा स्विट्जरल्यान्डसँग खेल्नेछ। त्यसअघि अन्तिम–३२ मा पनि नवप्रवेशी टिम केपभर्डेविरुद्ध आत्मघाती गोल उपहार पाएपछि अर्जेन्टिनाले ३–२ को संघर्षपूर्ण जित निकालेको थियो। 

अर्जेन्टिनाको नाटकीय जित 

खेलमा इजिप्टलाई १५औँ मिनेटमा टोलीका यासिर इब्राहिमले ‘हेडर’ गोल गर्दै अग्रता दिलाए। यो इब्राहिमको दोस्रो अन्तर्राष्ट्रिय गोल थियो। ६७औँ मिनेटमा इजिप्टले टोलीका मोस्टाफा जिकोको गोलमा २–० को स्पष्ट अग्रता बनायो। 

मोस्टाफाले आफू ‘अनमार्कड’ रहेको फाइदा उठाउँदै टोलीका हसिम हसनको पासलाई गोलमा परिणत गरेका थिए। उनले त्यसअघि ५९औँ मिनेटमा पनि गोल गरेका थिए। तर, रेफ्रीले भीएआरमा हेर्दा गोलअघि टोलीका मर्विन आटियाले अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेजलाई फाउल गरेको पाइएपछि, गोललाई मान्यता नदिइकन अर्जेन्टिनालाई पेनाल्टी बक्सभन्दा पाँच यार्डनजिक फ्रिकिक दिए। भीएआरको उक्त निर्णयको इजिप्टका प्रशिक्षकले विरोध जनाएका थिए।

अर्जेन्टिनाले २–० ले पछि परेको स्थितिलाई अन्तिम ११ मिनेटमा उल्ट्यायो। थुप्रै प्रयासबीच अर्जेन्टिनाले ७९औँ मिनेटमा गोलको खाता खोल्यो र पुनरागमनतर्फ लम्कियो। 

टोलीका क्रिस्टियन रोमेरोले कप्तान मेसीको क्रसमा सुन्दर ‘हेड’ गोल गर्दै टोलीलाई १–२ को स्थितिमा राखे। चार मिनेटपछि, उनै ‘एसिस्टकर्ता’ मेसीले हाफ–भली प्रहार गर्दै बललाई जाली चुमाएर टोलीलाई खेलमा फर्काए। 

जारी संस्करणमा यो मेसीको आठौँ गोल थियो। यो गोलसँगै उनले गोल्डेन बुट रेसमा आठ गोलसहित आफूलाई शीर्ष स्थानमा उभ्याए। साथै विश्वकपको सर्वाधिक गोलकर्ताको सूचीमा पनि आफूलाई अग्रस्थानमा राखे। तर, जितको सुनिश्चिता हुन भने अझै बाँकी थियो। इजिप्ट निर्णायक अग्रता लिँदै पहिलोपटक क्वार्टरफाइनलको यात्रा तय गर्न ‘काउन्टर अट्याक’तर्फ अग्रसर भयो। 

यही क्रममा इन्जुरी टाइममा इजिप्टका कप्तान मोहम्मद सलाहले अर्जेन्टिनाको पेनाल्टीबक्सभित्र बलमाथि नियन्त्रण गुमाए। अर्जेन्टिनाले यही मौकामा उल्टै ‘काउन्टर अट्याक’ गर्‍यो। 

दोस्रो हाफमा मैदान प्रवेश गरेका मार्टिनेजले टोलीका इन्जो फर्नान्डेजलाई दाँया पोलतर्फ लामो ‘क्रस’ दिए। अन्दाज लगाउँदै फर्नान्डेज त्यहाँ पुगे। अनि हेडमार्फत बललाई बाँया पोलको ‘बटम कर्नर’मा जाली चुमाए। 

‘फस्ट बार’मा बल आउनसक्ने आंकलनसहित दाँया पोलमा पुगेका गोलकिपर मुस्तफा सोबिर त्यहीँ अड्किए। उनले चल्ने मौका पाएनन्। यसरी अर्जेन्टिनाले नाटकीय जित निकाल्यो। इन्जोले आफ्नो दाँया घुँडा सुनिए पनि खेलेका थिए।   

पहिलो हाफमा गोलकिपर मोस्तफा सोबिर

पहिलो हाफका प्रयास सफल भएको भए अर्जेन्टिनाले त्यसरी संघर्ष गर्नु पर्दैन्थ्यो। तर, खेलको कहानी यस्तै बन्यो। पहिलो हाफमा अर्जेन्टिनाले सुरुआतदेखि नै आक्रमण बुने पनि गोल गर्न सकेन। कारण थिए गोलकिपर मुस्तफा सोविर। 

१९औँ मिनेटमा सोविरले कप्तान मेसीको पहिलो पेनाल्टी प्रहार विफल बनाए। मेसीले पोष्टको बाँया पोलतर्फ गरेको प्रहार सोविरले छेके। यसको १० मिनेटपछि, २९औँ मिनेटमा एलेक्सिस म्याक्लिस्टरले हेड गरे पनि सोविरसामू केही सिप लागेन। 

टोलीका रोड्रिगो डे पलको ‘क्रस’मा पेनाल्टी बक्सभित्र भएको उक्त प्रहार सोविरले ‘पञ्च’ गर्दै बचाएका थिए।  

३९औँ मिनेटमा फरवार्ड जुलियन अल्भारेज पनि चुके। निकोलस टाग्लियाफिकोको पासमा ६ यार्ड बक्सभित्र अल्भारेजले गरेको प्रहार सोविरबाट ‘फिंगरटिप सेभ’ भएपछि बाँया पोल हुँदै बाहिरिएको थियो। 

इजिप्टले खेलमा यतिसम्म रक्षात्मक शैली अपनाएको थियो कि, दोस्रो हाफको सुरुआती १० मिनेटसम्म आफ्ना सबै खेलाडीलाई २२ यार्डमै सीमित राखेको थियो। 

हारे पनि क्वार्टरफाइनलमा पहिलोपटक पुग्दा साविक विजेताविरुद्ध यसरी चुनौती पेस गरेको इजिप्ट शानका साथ घर फर्किनेछ।