नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले अभिव्यक्ति सच्याएर माफी माग्न गरेका छन्। सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले संविधानविरुद्ध नजान चेतावनी पनि दिए।
‘यो सदन, यो व्यवस्था, यो संविधान हाम्रा अग्रज र नेपालीले ठूलो योगदान दिएर, रगत बगाएर ल्याएको हो। तर प्रधानमन्त्रीले राष्ट्रघाती देशद्रोही अभिव्यक्ति दिनु भयो। यसको रेकर्ड हटाउँदै माफी माग्न माग गर्दछु,’ उनले भने, ‘लिपुलेक, लिम्पियाधुरा कालापानी सुस्ता हाम्रो भूमि हो। नेपालले कतै एक इन्च भूमि मिचेको छैन। थाहा छैन भने पढे हुन्छ। अध्ययन गरे हुन्छ। नजाने हामीसँग सिक्न आए हुन्छ।’
उनले प्रधानमन्त्रीले भारतको भूमि नेपालले पनि मिचेको छ भन्ने अभिव्यक्ति दिएर नेपालीको शीर झुकाउने काम गरेको पनि बताए।
‘आज सिंगो नेपाली शीर झुकाइरहेका छन्। भारतीय मिडियामा खुसीयाली मनाउने काम भयो। प्रधानमन्त्रीबाट विदेशीलाई खुसी बनाउने काम भयो,’ उनले भने, ‘आज रास्वपाको सभापति भारत जानुअघि चाकडी गरिएको हो ? ‘
उनले प्रधानमन्त्री बालेन शाहको पोषाकप्रति पनि आपत्ति जनाए। ‘संसद्को गरिमा कायम गरिनुपर्छ। यो कुनै फुटबल खेल्ने, फेसन शो गर्ने ठाउँ हैन। सेनाले आयोजना गरेको कार्यक्रम नेपाली पोषाकमा जानुहुन्छ,’ उनले भने, ‘ तर उहाँ सदनमा आउनुहुन्छ फुटबल खेल्ने ड्रेसमा। प्रधानमन्त्रीले माफी माग्नुपर्छ। देशवासीको नाममा। प्रधानमन्त्रीले माफी नमागेसम्म विरोध जारी रहने जानकारी गराउन चाहन्छु ।’




















