बंगलादेशमा ‘डोनाल्ड ट्रम्प’ नाम राखिएको एउटा भैँसीको विषय सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ। इद-उल-अजहा (बकर-ईद) को अवसरमा बलि दिन लागिएको यो भैँसीको बलि सरकारले अन्तिम समयमा रोकेको छ। यो घटनाले अन्तर्राष्ट्रिय रूपमै चर्चा पाएपछि बंगलादेश सरकारले यस्तो निर्णय गरेको हो।
यो भैँसी बंगलादेशको नारायणगन्ज जिल्लास्थित राबिया एग्रो फार्ममा पालिएको थियो। भैँसीका मालिक जियाउद्दिनका अनुसार यसको टाउकोको कपाल र रूप रङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दुरुस्तै मिल्छ। भैँसीको सुनौलो कपाल र आक्रामक नहुने शान्त स्वभावका कारण उनका भाइले जिस्कँदै यसको नाम ‘डोनाल्ड ट्रम्प’ राखिदिएका थिए। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि यो भैँसी हेर्न फार्ममा मानिसहरूको ठुलो भिड लाग्न थालेको थियो।
स्थानीय बासिन्दा मोहम्मद सोरेनले यस भैँसीलाई बकरइदमा बलि दिनका लागि किनेका थिए। करिब ७०० केजी तौल भएको यो भैँसी साढे तीन लाख रुपैयाँभन्दा बढीमा खरिद गरिएको थियो। तर, यस भैँसीको चर्चा बंगलादेश बाहिर पनि फैलियो। इरानले समेत यसै भैँसीको तस्बिर प्रयोग गरेर अमेरिकी राष्ट्रपतिको उपहास गरेको थियो।
विवाद र चर्चा अन्तर्राष्ट्रिय स्तरमा बढेपछि बंगलादेशका गृहमन्त्री सलाहउद्दिन अहमदले चासो देखाएका हुन्। सुरक्षा र अनावश्यक विवादबाट बच्न सरकारले भैँसीको बलि रोक्ने निर्णय गर्यो। प्रहरीले खरिदकर्तालाई उनको रकम फिर्ता गराएर भैँसी आफ्नो नियन्त्रणमा लिएको छ। खरिदकर्ताले पनि सरकारी निर्णयलाई स्वीकार गर्दै भैँसी हस्तान्तरण गरेका छन्।
अहिले यो दुर्लभ भैँसीलाई ढाकास्थित राष्ट्रिय चिडियाखानामा पठाइएको छ। चिडियाखानाका क्युरेटर अतिकार रहमानका अनुसार भैँसीका लागि छुट्टै बस्ने ठाउँ र रेखदेख गर्ने मानिसको व्यवस्था गरिएको छ। विज्ञहरूका अनुसार यो एउटा दुर्लभ ‘एल्बिनो’ (सेतो) भैँसी हो। यस्ता भैँसीहरू विश्वभर नै निकै कम संख्यामा जन्मिने गर्छन्।




















