साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा सुरु हुँदैछ। आठौँ संस्करणको साफ महिला च्याम्पियनसिप जित्ने लक्ष्यसहित नेपाली महिला राष्ट्रिय टोली मैदान उत्रँदै छ। नेपालले प्रतियोगिताको पहिलो खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
समूह ‘ए’ मा रहेको नेपाल र भुटानबीचको खेल गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ। आजै समूह ‘बी’ अन्तर्गत आयोजक भारतले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ।
नेपालकी प्रमुख फरवार्ड तथा सर्वाधिक गोलकर्तामध्ये एक सावित्रा भण्डारी ‘साम्बा’ बिना नै नेपालले प्रतियोगिता सुरु गर्न लागेको हो। सावित्राको अनुपस्थितिमा गोलकिपर एन्जिलाले पुनः कप्तानी सम्हाल्दै साफ महिला च्याम्पियनसिपमा तेस्रो पटक टोलीको नेतृत्व गर्नेछिन्।