छोरा भेट्न नेपालबाट अस्ट्रेलियाको सिड्नी पुगेकी एक ५५ वर्षीया नेपाली महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ।

शुक्रबार बिहान सिड्नी विमानस्थल पुग्ने क्रममा अचानक बेहोस भएकी ठूली कान्छी तामाङको निधन भएको हो।

काठमाडौंको सुकेधारा निवासी तामाङ आफ्ना श्रीमानसँगै अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यअन्तर्गत पर्ने वागा वागामा छोरा राजु तामाङलाई भेट्न पुगेकी थिइन्। विमान अवतरण भएलगत्तै विमानस्थलमा उनी अचानक अचेत भएर ढलेकी थिइन्। अचेत भएर ढलेलगत्तै मेडिकल टोलीले तत्कालै सीपीआर लगायतका प्राथमिक उपचार प्रयास गरे पनि उनको निधन भएको हो।

शव नेपाल ल्याउन गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया लगायतको सहयोगमा गो फन्ड मीबाट रकम जुटाइएको छ। रकम जुटाएसँगै शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल पठाउने तयारी भइरहेको छ।