नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था संवेदनशील रहेको समयमा नेतृत्व परिवर्तनबारे सार्वजनिक रूपमा चर्चा गरिएकोप्रति आपत्ति जनाएका छन्। उनले यस्तो अभिव्यक्तिलाई गैर जिम्मेवार मात्र नभई आपत्तिजनक मानसिकता भएको टिप्पणी गरेका छन्।
बस्नेतले एमाले सचिवालय बैठकमा २४ बुँदे धारणा प्रस्तुत गरेको उल्लेख गर्दै तीमध्ये केही विषयलाई लिएर गलत व्याख्या र प्रचार गरिएको दाबी गरेका छन्। यस विषयमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्टीकरण सार्वजनिक गरेका हुन्।
उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारको क्रममा स्वास्थ्य जटिलतासँग जुधिरहेका छन्। उनले अपरेशनपछि समेत निमोनिया र संक्रमणका कारण स्वास्थ्य अवस्था संवेदनशील रहेको बताएका छन्।
बस्नेतले अघिल्लो चरणमा अध्यक्षलाई पक्राउपछिको प्रक्रिया, अदालतको आदेश र उपचार अवस्थाबारे विभिन्न प्रशंग उल्लेख गर्दै त्यसबेला भएको चिकित्सकीय व्यवस्थापनको चर्चा गरेका छन्। उनका भनाइअनुसार उपचार आवश्यक भएपछि अस्पतालमा शल्यक्रिया गरिएको र त्यसपछि स्वास्थ्य समस्या थप जटिल बनेको हो।
उनले पार्टी नेतृत्व परिवर्तनबारे उठाइएको बहसलाई अहिलेको परिस्थितिमा अनुचित भन्दै संगठनले नेतृत्वको सुरक्षा र सशक्त राजनीतिक प्रतिरोधमा ध्यान दिनुपर्ने धारणा राखेका छन्।
यसैबीच, कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका रामबहादुर थापा ‘बादल’ ले संसदमा दिएको भनाइ फिर्ता गराउने पार्टी निर्णयप्रति पनि उनले असन्तुष्टि जनाएका छन्।
बस्नेतले ती अभिव्यक्तिमा बाह्य प्रभाव, डिजिटल प्रविधिमार्फत युवा परिचालन तथा राज्य संयन्त्रको दुरुपयोग जस्ता विषय समेटिएको भन्दै त्यसलाई सच्याउने निर्णय उचित नभएको टिप्पणी गरेका छन्।




















