नेकपा एमाले सांसद पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्प्रतिको जवाफदेही बनाउन आफूहरू विरोधमा उत्रिएको बताएकी छिन्।

बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले प्रधानमन्त्री शाहले संसद्लाई बेवास्ता गरिरहेको टिप्पणी गरिन्।

‘प्रधानमन्त्रीले यो संसद्लाई जसरी बेवास्ता गरिरहनुभएको छ, जसरी संसद्प्रतिको उत्तरदायित्वलाई केही होइन भनिरहनुभएको छ,’ अर्यालले भनिन्, ‘त्यसैले उहाँलाई सबक सिकाउनुपर्ने पनि छ। तपाईंको जिम्मेवारी के हो भनेर पढाउनुपर्ने पनि छ। त्यो हिसाबले हामीले बोलाएको हो।’

साथै, उनले प्रधानमन्त्री शाह जवाफ दिनका लागि आउने ग्यारेन्टी नभइ संसद्मा टेबुल गर्न नदिने बताइन्।

‘हामी प्रष्टताका साथ यद्यपि उहाँ पेश गर्ने समयमा आउनुपर्ने हो। आउनै नसक्ने स्थिति हो र वारेस अर्थमन्त्रीलाई बोलाइएको हो भने जवाफ दिने बेलामा उहाँ अनिवार्य उपस्थित हुनैपर्छ। तर ग्यारेन्टी हुनुपर्छ,’ उनले भनिन्, ‘उहाँ आउनसक्नुहुन्छ धेरै राम्रो, आउन सक्नु हुन्न वारेसबाट टेबुल भए पनि उहाँ जवाफ दिन आउने कुराको सुनिश्चितता नभइ हामीले टेबुल गर्न दिँदैनौं ।’