एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक लाई प्रहरीले बयानका लागि जिल्ला प्रहरी परिसरमा झिकाउने तयारी गरेको छ।

जिल्ला अदालतबाट प्राप्त ५ दिनको हिरासत म्याद पर्याप्त नहुने भएपछि पुनः म्याद थप गर्ने तयारी गरिएको छ। प्रहरीका अनुसार सम्भव भए बुधबार बयान लिइनेछ भने बिहीबार म्याद थप प्रक्रिया अघि बढाइनेछ।

यो अनुसन्धान जेनजी आन्दोलनका क्रममा भदौ २३ गते मृत्यु भएका रसिक खतिवडाको घटनासँग सम्बन्धित छ। उनका बुबा पुरुषोत्तम खतिवडा खत्रीले दिएको जाहेरीका आधारमा अनुसन्धान भइरहेको छ।

पक्राउपछि ओली स्वास्थ्य उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा छन् भने लेखक प्रहरीको निगरानीमा रहेका छन्। ओलीको स्वास्थ्य अवस्था जटिल रहेकाले बयान कहिले लिने भन्ने विषय लचक हुने प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्ता पवनकुमार भट्टराई का अनुसार स्वास्थ्य अवस्था अनुकूल भएमा मात्रै ओलीको बयान लिइनेछ।

यसैबीच, घटनासँग सम्बन्धित थप अनुसन्धानका क्रममा पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

प्रहरीले घटनासम्बन्धी कागजात, प्रतिवेदन र बयानहरूको अध्ययन गर्दै थप अनुसन्धान जारी राखेको जनाएको छ।